• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:37:27

सरकारविरुद्ध आन्दोलन गर्ने दिन आउँदैछ: कांग्रेस सभामुख र उपसभामुख मध्ये एक पद छाड्न नेकपालाई चेतावनी  :

कुलचन्द्र न्यौपाने
काठमाडौँ २९ जेठ

प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन ।

नेपाल कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरुबाटै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरीरहेका बेला कांग्रेसले त्यसलाई लोकतान्त्रिक गणतन्त्रमाथिको खतराका रुपमा लिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ अधिवेशनको मंगलबार भएको उद्घाटन सत्रमा नेताहरुले कांग्रेसलाई एक्ल्याएर कम्यूनिष्ट शासन लाद्न खोजिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा प्रधानमन्त्री केपी ओली लागेको भन्दै त्यसबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

‘यो सरकारविरुद्ध चाडै नै आन्दोलनको घोषणा गर्नुपर्ने दिन आउँदैछ’ देउवाले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लम्पसारवादमा परिणत भएको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालनका लागि सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई भन्दा बढीको समर्थन हुनेगरी सरकारमा सबैलाई ल्याउन खोज्नु रहस्यमय भएको बताए । ‘यो घटना रहस्यमय र शंकास्पद छ, कांग्रेस समयमै सतर्क हुनुपर्छ’ उनले भने, ‘संविधान संशोधनको चर्चा, प्रादेशिक संसदमा प्रधानमन्त्रीको सम्बोधन, लोकतान्त्रिक संरचनामाथि नियन्त्रित अभ्यास राज्यसत्ता केन्द्रीकृत गर्ने योजनाबाट आएको छ । यसका विरुद्ध हामी लड्नुपर्ने हुन्छ ।’

उनले प्रतिपक्षीय भूमिका फितलो भएको भन्दै संसद र सडकमा समेत आर्थिक र भौतिक रुपमा सम्पन्न कम्युनिष्टहरुविरुद्ध संघर्ष गर्नुपर्ने दिन आएको बताए । यसका लागि पार्टीभित्र एकता आवश्यक रहेको उनले बताए ।

उपसभापति विमलेन्द्र निधिले कम्यूनिष्ट नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा संविधान विपरितका काम गर्न थालेको बताए । महामन्त्री सशांक कोइरालाले कर्‍याङकरुङ चराको उडान जस्तै कांग्रेसमा एकताको उडान आवश्यक रहेको बताए । ‘कांग्रेसलाई सम्पूर्ण रुपमा एकजुट नबनाएसम्म हामी कम्यूनिष्टसंग जुध्न सक्दैनौ’ उनले भने,‘मेरो अभियान कांग्रेसलाई एक बनाउने छ । यसमा सबैले साथ दिनुहोला ।’

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रकृयामा आएको माओवादीको विप्लव समूहले जंगलमा बसेर हिंशाको घटना सुरु गर्न थालेको भन्दै त्यसविरुद्ध सरकार गम्भिर नभएको भन्दै आपत्ति जनाए । ‘सत्ता र जंगलमा समेत कम्यूनिष्ट छन, कांग्रेस बीचमा एक्लो बनेको छ’ उनले भने,‘कांग्रेसलाई एक्लो बनाएर शान्ति प्रकृयालाई असफल बनाउने प्रयास भएको छ ।’

कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले भविष्यका चूनौतिहरुलाई सामना गर्न सक्ने क्षमताको पार्टी बनाउनु पर्ने भन्दै एकतामा जोड दिए ।

सभामुख र उपसमामुख मध्य एक छोड्न मागः
कांग्रेस नेताहरुले नेपाल कम्यूनिष्ट पार्टीलाई सभामुख र उपसभामुख मध्य एक छाडेर संविधानको पालना गर्न आग्रह गरेका छन । नछाडेमा संसद अबरुद्ध गर्नेसम्मको चेतावनी नेताहरुले दिए । अहिले सभामुख र उपसभामुख दुवै पदमा नेपाल कम्यूनिष्ट पार्टीका नेता छन् ।

म बुढो भएको छैन: देउवा
पार्टीभित्रै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज मुखरित भइरहेका बेला सभापति देउवाले भने मलेसियाको प्रधानमन्त्रीको उदाहरण दिँदै आफू बुढो नभएको बताएका छन् । ‘मलेशियामा ९२ वर्षमा नेता प्रधानमन्त्री भएका छन्, म त बल्ल ७४ वर्ष भएको छु’ देउवाले भने, ‘अहिल्यै हट्न पर्‍यो भन्न भएन नि ।’ उनले त्यसो भन्दा सम्पूर्ण हल हाँसोले गुन्जिएको थियो । देउवाले आफूविरुद्धको आलोचनाको सफाइ दिदै आफ्नो अनुकूलमा विधान र सहमतिको कुरा नझिक्न आग्रह गरे ।

‘पार्टी कि त विधान अनुसार कि त सहमति अनुसार चल्नुपर्छ, आफुलाई सहमति चाहिँदा सहमतिको कुरा, विधान चाहिदा विधानको कुरा गर्न भएन’ देउवाको भनाई थियो,‘हिजो गिरिजाप्रसाद र सुशील कोइरालाबिरुद्ध बोल्न नसक्ने, आज म विरुद्ध जति बोले पनि भएको छ ।’ त्यसअघि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिटौला र युवा नेता थापाले नेतृत्वमा परिवर्तनको आवश्यकता रहेको बताएका थिए ।

पौडेलले पार्टी नसच्चिएसम्म अघि बढ्न नसकिने बताए भने सिटौलाले पार्टीभित्र सामन्तवाद प्रवृति हावी भएको बताए । ‘न्याय, निष्पक्षता र पारदर्शीतासहितको मुल्याकंनले मात्रै पार्टी अघि बढ्न सक्छ’ पौडेलेको भनाई थियो,‘विधानको दाहारभित्र रहेर नेतृत्व चल्नुपर्छ । मेलमिलापको आधार त्यहि हो ।’ सिटौलाले प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा पार्टी नेतृत्वबाट व्यापक विकृति भित्रिएको बताए । युवा नेता थापाले पार्टीलाई पुरानो ठाउँमा नभएर नयाँ ठाउँमा पुर्‍याउने अभियान सुरु गर्नुपर्ने बताए ।

सभापतिले पुरानै ठाउँमा पुर्‍याउने उद्घोष गरीरहेका बेला थापाले भने पुरानो ठाउँमा पुर्‍याएर कांग्रेस एक नम्वरको पार्टी हुन नसक्ने बताए ।

साभारः कान्तिपुर अनलाइन

प्रतिकृया दिनुहोस

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको

मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले नेटवर्क विस्तार गर्ने

सम थापा काठमाडौं, १४ असोज एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष विक्रम ढुकुछुले मानवअधिकारको अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता टीकापुर, १० असोज विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक